एमाले आफ्नो उद्देश्यतर्फ एकताबद्ध भएर अगाडि बढ्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन्।

बिहीबार (आज) अनेरास्ववियूद्वारा कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमाले एउटा उद्देश्य र बाटोतर्फ अगाडि बढ्छ, एकताबद्ध भएर अगाडि बढ्छ। एमाले सानातिना कुरामा अल्झिँदैन। एमाले स्वार्थकेन्द्रित भएर जाँदैन,’ ओलीले भने।

यस्तै उनले साना दलहरूलाई एमाले ‘मर्ज’हुनका लागि आह्वान गरे। ‘क्रान्तिकारी नीति मान्छन्, मिल्ने। मान्दैनन्, नमिल्ने। नीतिहीन सङ्गठनसँग एकता गर्‍यौँ भनेर गर्व गरेर काम छैन। बरु एक्लै अगाडि बढ्ने। हामी आफ्नै सङ्गठन विस्तार गर्छौँ, हामी आफैँ अगाडि बढ्छौँ,’ उनले भने, ‘क्रान्तिकारीहरू मर्ज हुन आउँदा हुन्छ।’

पार्टीमा इमान्दारिता चाहिने उल्लेख गर्दै ओलीले पार्टीविरुद्ध लाग्नेहरू पार्टीमा रहन नहुने बताए। ‘पार्टीको नेता हुँ भन्यो, आयो, छलफल होस् भन्यो। यसरी चल्दैन। पार्टीले निर्णय गर्छ, कहाँ कसलाई राख्ने उसले राख्छ। अनावश्यक बार्गेनिङ चल्दैन। हामी पार्टीलाई अनुशासित बनाउँछौँ। लोकतन्त्रको नाममा एउटा यता फर्केर कराएको छ, अर्को उता फर्केर कराएको छ। यसरी चल्दैन,’ उनले भने।

ओलीले खुलेका सानातिना पसलहरू चल्न नदिने बताए। ‘मान्छेहरूले पसल खोल्न थालेका छन्, हामी चल्न दिन्नौँ। अझ सुकाको छैन, रुपैयाँ हालेर कहाँ हुन्छ,’ उनले भने।


Published :२५ पुष २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media