नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध करोडौँको भ्रष्टाचार मुद्दा

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टाचार आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरेको हो।

मेयर बस्नेतविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा मेयर बस्नेतले ८ करोड बढी रकम भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नविन घिमिरेले जानकारी दिएका छन्।

आयोगका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्व बस्नेको १९ करोड ५५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन गरेकोमा जाँच अवधिमा बस्नेतले विभिन्न शीर्षकमा गरेको खर्च रकम र विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात रहेकोसमेत गरी २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ ।

कूल आयभन्दा व्यय अधिक हुँदा निज बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेकाले सोही रकम बराबरको बिगो जरिवानाको सजाय माग गरिएको अख्तियारको आरोप -पत्रमा उल्लेख छ।

यसैगरी मेयर बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट उनको श्रीमती उर्मिला बस्नेतको नाममा रहेको नगद मौज्दात रकम,खरिद गरिएका घरजग्गासमेत जफत गर्न माग दावी गरेको अख्तियारले जनाएको छ।

मुद्दामा बस्नेतकी श्रीमती उर्मिलालाई प्रतिवादी कायम गरिएको छ।


Published :२७ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media