दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेटको स्रोत सुनिश्चित

राष्ट्रपाटी न्युज

३ फाल्गुन २०८१

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ।

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई रु. पाँच/पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो।

घरपझोङ गाउँपालिका-२ मार्फादेखि धमाङ-आलुबारी-याकखर्क र लोघेकर-दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ-यारा-घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिए।

‘भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ उनले भने, ‘दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ।’

करिब १३ किलोमिटर दूरीको मार्फा-धमाङ-आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैँचा छ। परापूर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडीबुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ।

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुँदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ। यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरूलाई सहज हुनेछु। याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङदेखि सुरखाङ-यारा-घारा हुँदै घुयुमा ठाटी सडकबाट स्थानीयवासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरूलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए। धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनले बताए।

गत वर्ष वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा-झोङ-तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. १०/१० करोड बजेटको योजना सुरु भएको थियो।

रानीपौवा-झोङ-तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम-कोरला सडकको छुसाङ-कागबेनी खण्डको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिन्छ। कागबेनी-मुक्तिनाथ-उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ।

दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए। यस वर्ष झोङ-छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए।


Published :३ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media