प्रधानमन्त्री ओलीसँग अदालतको अवहेलनामा लिखित जवाफ माग

राष्ट्रपाटी न्युज

५ फाल्गुन २०८१

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले गिरीबन्धु टी स्टेट्सको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा मुद्दाको सक्कल मिसिल झिकाउँदै प्रधानमन्त्रीका नाममा पनि कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमि व्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरेको हो । साथै गत वर्ष सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको गिरीबन्धु टी स्टेट्स सम्बन्धी मुद्दाको मिसिल समेत साथै राख्न आदेश दिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धुको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।


Published :५ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media