ओडीसा राज्य सरकारद्वारा प्रकृति लम्साल मृत्यु प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन

राष्ट्रपाटी न्युज

६ फाल्गुन २०८१

काठमाडौं । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयका छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण सम्बन्धनमा ओडीसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

ओडीसाको सूचना तथा जनसम्पर्क विभागका निर्देशकले विज्ञप्ति जारी गर्दै राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको र समितिको निष्कर्षअनुसार कानुनी कारबाही अगाडि बढाइने जानकारी दिएको छ। छानबिन समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सह-सचिव सदस्यहरू छन्।

ओडीसा सरकारले नेपाली विद्यार्थीमाथि गरिएको दमनलाई दुर्भाग्यपूर्ण रहेको बताउँदै त्यस विषयमा तुरुन्तै ‘एक्सन’ लिइएको बताएको छ। केआइआइटीका सुरक्षा गार्डलाई पक्राउ गर्न र गल्ती गर्ने कर्मचारीहरूलाई निलम्बन गर्न निर्देशन दिइएको विभागको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै स्थानीय व्यक्तिहरूले पनि नेपाली विद्यार्थीमाथि बल प्रयोग गरेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ। गल्ती गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता ओडीसा सरकारले गरेको छ।

‘स्थानीय व्यक्तिहरूद्वारा विद्यार्थीविरुद्ध बल प्रयोग लगायतका दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको छ। गल्ती गर्नेहरूलाई कानुन अनुसार जवाफदेही बनाइनेछ। ओडिशा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्न प्रतिबद्ध छ। ओडिशा सरकारले छिटो र निष्पक्षरूपमा न्याय प्रदान गर्न सबै आवश्यक कदम चाल्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।


Published :६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media