काठमाडौं – ४ मा पुन: सक्रिय बन्दै डा राजन भट्टराई

राष्ट्रपाटी न्युज

७ फाल्गुन २०८१

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई पुन : काठमाडौं – ४ मा सक्रिय बन्न थालेका छन्। विगत दुइवटा आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका उनि आगामी २०८४ मा हुने निर्वाचनमा समेत यस क्षेत्रबाट नेकपा एमालेको उम्मेदवार बन्ने सम्भावना उच्च रहेको नेकपा एमालेका एक नेताले बताएका छन्।

अघिल्लो निर्वाचनको बेला नेकपा एमालेको परराष्ट्र मामिला प्रमुख रहेका भट्टराई अहिले भने बागमती प्रदेश इन्चार्ज छन्। त्यसैले पनि आगामी स्थानीय तह र आम निर्वाचनमा टिकट वितरणमा भट्टराईको भूमिका निर्णायक हुने स्पस्ट देखिन्छ। त्यसमाथि काठमाडौं – ४ मा नेकपा एमालेको तर्फबाट अहिलेसम्म बैकल्पिक उम्मेदवारको कुनै चर्चा नहुँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापा संग चुनाव लड्न डा राजन भट्टराई नै उपयुक्त बिकल्प हुन सक्ने आंकलन गरिएको छ।

यसैबीच डा राजन भट्टराई सहित नेकपा एमालेका प्रभावशाली नेताहरुले बुढानिलकण्ठ -११ कपनमा रहेको खरिबोट- त्रिवेणी चोक सडक खण्डमा निर्माणाधीन बक्स कल्भर्टको निरीक्षण गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई , पोलिटब्युरो सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ, प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, नेकपा एमाले काठमाण्डौका अध्यक्ष दिपक निरौला, बागमती प्रदेस सभा सदस्य जयराम थापा, जिल्ला कमिटीका उपसचिव उद्दव भण्डारी सहित जिल्ला तथा नगर स्तरीय नेताहरुको बाक्लो उपस्थितिमा सो क्षेत्रमा निर्माण भैरहेको बक्स कल्भर्ट निर्माणको अवस्था र भावी योजनाका बारेमा जानकारी प्रदान गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ , गोकर्णेश्वर नगरपालिका वडा नं ९ र काठमाण्डौ महानगरपालिका वडा नं ६ का स्थानीय कमिटीका पदाधिकारी र सदस्यहरु सहित सो स्थानमा पुगेका नेताहरुले खरिबोट-त्रिबेणी चोक-जगडोल सडक निर्माणको अवस्था र समस्याहरुका बारेमा अन्तरक्रिया समेत गरेका थिए।

तिन पालिकाको संगम स्थलमा रहेको सो सडक निर्माण सम्बन्धि छलफल र अन्तरक्रिया गरिएको थियो। उक्त अवसरमा स्थानीयहरुले आफ्ना विभिन्न समस्या तथा गुनासोहरु अबगत गराएका थिए।


Published :७ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media