काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् ।
एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सल्बलाउन थालेको बताए ।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।
महासचिव पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’
महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताए । आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उहाँले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे ।
जनता माझ गइ चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै महासचिव पोखरेलले राजनीतिक खुद्रा पसल भने आवश्यक नभएको बताए ।