जनताले लोकतन्त्रको विकल्प नखोजेको गगनको दाबी

राष्ट्रपाटी न्युज

९ फाल्गुन २०८१

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले पटक पटक तानाशाह र निरङ्कुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताए ।

“गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्व राजाको शासनकालमा  राष्ट्र द्रोहको हामीले बोलेकै भरमा राज्य द्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्व राजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जाँदैनौँ”, उनले भने ।

प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको धारणा राखे ।

सञ्चारकर्मीको जिज्ञासामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहनुभएको र केही दिनभित्र समझदारी हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया शुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।


Published :९ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media