युक्रेनमा शान्ति स्थापनाका लागि राष्ट्रपति पद छोड्न तयार रहेको जेलेन्स्कीको प्रतिक्रिया

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०८१

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको प्रतिक्रिया दिएका छन ।

राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका हुन । यसअघि आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए ।

जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताए । यसैबीच, शान्ति सम्झौताका  लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ ।

बैठकमा आउँदो वर्षको लागि आ–आफ्नो देशको रणनीति र  युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने बताइएको छ । (एजेन्सी)


Published :फाल्गुन १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media