प्रतिनिधिसभा बैठकः आमसञ्चार क्षेत्रलाई स्वतन्त्र राख्नुपर्नेमा सांसदहरुको जोड

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०८१

काठमाडौं । आमसञ्चार क्षेत्रलाई स्वतन्त्र राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा आमसञ्चार परिषद् विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै सांसदहरुले धारणा राखेका हुन् । लोकतन्त्रको आधारभुत तत्व अभिव्यक्ति स्वतन्त्रता र त्यसको प्रमुख रक्षक स्वतन्त्र मिडिया भएको उनीहरुको भनाइ छ ।

नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालको सञ्चार क्षेत्र आफ्नो विशिष्टता जोगाउने र अघि बढ्ने संकटबाट गुज्रिरहेको बताए । उनले नेपालको सञ्चार क्षेत्रलाई दुरुपयोग गर्दै बाटोको मादल जस्तो बनाउन खोजिएको टिप्पणी गरे ।

सांसद थापाले पत्रकारितालाई स्वच्छ, स्वस्थ र व्यवसायिक बनाउने गरी विधेयक निर्माण गर्नुपर्ने बताए । उनले आमसञ्चार परिषद्लाई नियमनकारी निकायका रुपमा स्वायत्त, नियमनकारी र व्यवस्थित ओभरसाइड एजेन्सीका विकास गर्नेगरी विधेयक ल्याउनुपर्ने बताए । उनले आमसञ्चार परिषद्मा सिफारिस र नियुक्ति प्रक्रियाको प्रश्तावमा सुधार गर्न जरुरी रहेको बताए । सांसद थापाले आमसञ्चार परिषद्मा संसदको समेत सहभागिता हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले आमसञ्चार परिषद् विधेयकले मिडिया पत्रकारिता र समाचार क्षेत्रको व्यवस्था र नियमनको दायित्व बोकेको बताइन् । उनले विधेयकले मिडियामा आवद्ध सञ्चालक तथा पत्रकारहरुको जिम्मेवारी, जवाफदेहितासँगै समाजप्रतिको उत्तरदायित्वलाई समेत सुनिश्चित गरेको उललेख गरिन् । सांसद न्यौपानेले मिडिया उद्योगको संरचना, पत्रकारहरुको अधिकार तथा कर्तव्य र मिडियासम्बन्धी मापदण्ड र प्रक्रियाहरु तय गर्ने भन्दै विधेयकको स्वागत गरिन् ।  विधेयकमाथि अझै छलफल गरेर समृद्ध बनाउन जरुरी रहेको उनको भनाई छ  ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विधेयकको नाम परिवर्तन गरिएकोप्रति आपत्ति जनाए । सापकोटाले मिडिया काउन्सिल विधेयकलाई आमसञ्चार परिषद् विधेयक मात्र बनाइएको हो कि यसको भावमै केही फरक गरिएको हो ? भन्दै प्रश्न समेत गरे । उनले सञ्चार क्षेत्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि निगरानी राख्ने र  जनतालाई  सुसूचित गर्ने क्षेत्र भएको उल्लेख गर्दै पुर्ण स्वतन्त्रता दिइनुपर्ने बताए ।

विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले मिडिया काउन्सिल विधेयकले नेपाली पत्रकारितालाई मर्यादित, स्वस्छ र जिम्मेवार बनाउने उद्देश्य भएपनि यसका केही प्रावधानहरुले स्वतन्त्र प्रेसमाथि नियन्त्रणको आशंका जन्माएको बताइन् । उनले स्वतन्त्र पत्रकारिताको रक्षाका लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताइन् ।  सांसद कार्कीले  विधेयकमा भएको काउन्सिलको संरचना र नियुक्ति प्रक्रियाले यसको निष्पक्षतामाथि गम्भिर प्रश्न उठाएको भन्दै सुधार गर्न जरुरी रहेको बताइन् ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विधेयक कानून बाझिने गरी आएको बताए । राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ मंगलवार प्रतिनिधि सभामा छलफलका लागि पेश गरिएको हो ।


Published :१३ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media