राष्ट्रपति ट्रम्पले मंगलबार संसदमा आफ्ना योजना पेस गर्ने

राष्ट्रपाटी न्युज

फाल्गुन १९, २०८१

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएका छन्। उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।

सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद् भवनमा हुने उनको यो पहिलो सम्बोधन हो। रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी एक हजार ४१९ दिनको खाका पेस गर्ने अपेक्षा गरिएको छ।

‘राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको अहिलेसम्मको जितलाई उजागर गर्ने र आगामी चार वर्षका लागि ‘गेम प्लान’ प्रस्तुत गर्नुहुनेछ,’ अलाबामाका सिनेटर तथा पूर्वफुटबल प्रशिक्षक टोमी ट्युबरभिलले इन्स्टाग्राममा भनेका छन्, ‘एउटा कुरा निश्चित छ, यो पूर्वराष्ट्रपति जो बाइडनको नेतृत्वमा विगत चार वर्षमा हामीले भोगेको ‘जोकर साे’भन्दा धेरै फरक हुनेछ।’

परिवर्तित प्रतिविम्ब
ट्रम्पले आफ्ना अर्बपति सल्लाहकार एलन मस्कसँग मिलेर राष्ट्रपतिको ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा कार्यान्वयन गर्न कडा र छिटो प्रयास गर्ने आशय देखाइसकेका छन्, चाहे यसको अर्थ उनको अधिकारको संवैधानिक सीमाको परीक्षण गर्नु वा सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाउनु नै किन नहोस्।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा संघीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गर्ने र क्युबाको ग्वान्टानामो बेस्थित अमेरिकी सैन्य शिविरमा कागजातविहीन आप्रवासीहरूलाई राख्न थालेका छन्।

उनले क्यानडालाई गाभ्ने, आवश्यक परेको खण्डमा आर्थिक बल प्रयोग गर्ने र संयुक्त राज्य अमेरिकालाई बलियो बनाउन युरोपेली संघ गठन गरिएको दाबीसमेत गरेका छन्।

शुक्रबार ओभल अफिसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको असाधारण चर्काचर्कीमा ट्रम्पले आफ्ना युक्रेनी समकक्षीको आलोचना गरेका थिए। यो अमेरिकी प्रतिविम्ब परिवर्तनको पछिल्लो उदाहरण मात्र थियो। (रासस)


Published :फाल्गुन १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media