काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि हुने एसईईको परीक्षा दिने विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
चैत ७ देखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसइई) हुँदैछ ।
त्यसको पूर्व संध्यामा प्रधानमन्त्री ओलीले एक भिडियो सन्देशमार्फत एसइईको तयारीमा बसेका परीक्षार्थीलाई सफलताको शुभकामना दिएका हुन् ।
सन्देश मार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘पहिले पहिले एसइईलाई फलामको ढोका भन्थे, त्यो शब्दले पनि विद्यार्थीमा त्रास पैदा हुन्थ्यो । परीक्षा जीवनका कदम कदममा र मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उतिर्ण गरेर तपाईँहरु यहाँसम्म आउनु भएकाे छ, भविष्यमा पनि अनेक परीक्षा पार गर्नुपर्ने हुन्छ । त्यसकारण त्रसित नभइ राम्रो तयारी गरेर परीक्षा दिनुहोस् । तपाईँहरुलाई मेराे धेरै धेरै शुभकामना छ ।’
अघिल्लो वर्ष त्यति राम्रो नतिजा हुन नसके पनि यस वर्ष राम्रो नतिजाको अपेक्षा आफूले गरेको उनले बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
यो वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थीले एसइई परीक्षा दिँदैछन् ।