दक्षिण कोरिया डढेलोः मृतकको संख्या २४ पुग्यो

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८१

काठमाडौँ । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

डढेलोमा परी घाइते भएका २६ जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सुख्खा मौसम र तेज हावाका कारण केही दिनदेखि डढेलो फैलिएको हो । दक्षिण कोरियाका प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूले पाँच दिन देखिको आगलागीले ठूलो क्षति पु¥याएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डढेलोका कारण आन्दोङ  र अन्य दक्षिणपूर्वी शहर र नगरका बासिन्दाहरूलाई घर खाली गर्न आदेश दिइएको छ । आगलागीवाट  १७ हजार ४०० हेक्टर जमिन नष्ट भएको छ ।  आगलागीबाट १ हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिरसहित सयौं संरचनाहरू ध्वस्त भएका छन् ।

आन्दोङ र छिमेकी शहरहरु उइसेओङ र सानचेओङ, र उल्सानबाट ५, हजार ५ सय भन्दा बढी मानिस विस्थापित भएका छन । डढेलो नियन्त्रणका लागि ९ हजार दमकलकर्मी, १ सय ३० भन्दा बढी हेलिकोप्टर र सयौं सवारी साधन प्रयोग गरिएको छ ।

लगातारको सुख्खा र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको समाचारमा उल्लेख छ । (एजेन्सी)


Published :चैत्र १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media