विमान दुर्घटनापछि भारत शोकमा, एक यात्रु जीवितै फेला

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८२

काठमाडौं । भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको छ । एयर इन्डियाको विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ ।

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् ।

त्यसअघि प्रहरीले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको हुनसक्ने बताएको थियो ।

दुर्घटनासँगै भारत शोकमा डुबेको छ ।

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।’

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए । एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखेका थिए ।

भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘‘जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।’’

विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ ।

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ । विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रूत र समन्वित कारबाही गर्न’ निर्देशन दिए ।

‘‘अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु’’, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने, ‘‘हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ ।’’

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो ।

स्थानीय पुनम पटनीले एएफपीसँग भनिन्, ‘‘जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए ।’’

‘‘धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,’’ उनले भनिन् ।

भारतको राष्ट्रिय सुरक्षा निकाय सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ ।

विमान अहमदाबादको सिभिल अस्पताल र शहरको हर्स क्याम्प नजिकैको क्षेत्रमा खसेको थियो ।

अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति द्रोपदी मुर्मूले राष्ट्रपति मुर्मूले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो हृदयविदारक विपत्ति भएको बताएकी छिन् ।

राष्ट्रपति मुर्मूले ट्वीटरमा लेखेकी छिन्, ‘‘अहमदाबादमा भएको विमान दुर्घटनाको खबरले म निकै दुःखी छु । यो हृदयविदारक विपत्ति हो ।’’

उनले भनेकी छिन्, ‘‘दुःखको यस घडीमा दुर्घटनाबाट प्रार्थना प्रभावित सबैमा समवेदना । अवर्णनीय दुःखको यस घडीमा राष्ट्र पीडित परिवारजन र उनीहरूका आफन्तको साथमा उभिनेछ ।’’


Published :जेष्ठ ३१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media