अहमदाबाद । भारतको अहमदाबादको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।
अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट)को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।
‘सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,’ बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्युजसँग बताए ।
प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैरयात्रीको मृत्यु भएको जानकारी दिए ।
मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डीएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ । (रासस)