११ महिनामा काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

राष्ट्रपाटी न्युज

असार १०, २०८२

झापा । चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १८ अर्ब ४ करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ६ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा आठ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी छ अर्ब २६ करोड ७१ लाख मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, सोही अवधिमा दुई अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख मूल्य पर्ने ६ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।


Published :असार १०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media