
धनगढी । प्रहरी प्रशासनको चरम लापरबाहीले शुक्रबार मध्यरात कैलाली कारागारमा रक्तपात भएको छ। दुई गुन्डा समूहबिचको सांघातिक झगडा हुँदा एक जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन्।
राति सुतिरहेका एक कैदीको समूहमाथि अर्को समूहले अन्धाधुन्ध सांघातिक हमला गरेको थियो। जसको परिणाम कारागारभित्रै रक्तपातको स्थिति बनेको छ।
कारागारभित्रै यस्तो संगीन घटना हुनुमा सुरक्षा निकायको गम्भीर त्रुटि देखिन्छ। बिहीबार नै कैदीहरू बिच एक चरण झडप भइसकेको थियो। जसमा पाँच जना घाइते पनि भएका थिए।
कैदीबिच यो स्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिदैन्। कतिसम्म भने कारागारभित्र सम्भावित अर्को घटना हुने आशंकासहितको सूचना पहिले नै दिइएको स्रोत बताउँछ। तर त्यसमा सुरक्षा संयन्त्रले गम्भीरताका साथ लिएर सतर्कता अपनाएको देखिएन ।
यसैबीच कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।