पाँचथर बोलेरो दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, ६ जना घाइते

राष्ट्रपाटी न्युज

अशोज १८, २०८२

सुनसरी । पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिके स्थित तमोर करिडोर सडकखण्डमा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार आज दिउँसो साढे १ बजे पाँचथरको कार्तिके नजिकै ना १ च ५८२२ को बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको हो। दुर्घटनामा १२ जना सवारमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका एसएसपी पोखरेलले बताए।

घाइते ६ जनामध्ये चालक ताप्लेजुङ मेरिङदिन गाउँपालिका–५ का २८ वर्षका महेश लिम्बु केदेम सहित ५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ। एक जना घाइतेको भने पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

एसएसपी पोखरेलले घटनास्थलमा मृत्यु हुनेको संख्या ६ पुगेको पुष्टि भएको बताए। उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धान अनुसार तीव्रगतिका कारण बोलेरो अनियन्त्रित भई सडकबाट खसेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Published :अशोज १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media