रौतहटमा खोलाले बगाउँदा बालकको मृत्यु, दुई बालिका बेपत्ता

राष्ट्रपाटी न्युज

अशोज २०, २०८२

रौतहट । नुहाउन गएका बेला खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८, बलुवा गोठटोलका गोनवर मियाका १० वर्षीय छोरा अरवाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीले जानकारी दिए ।

सोमबार (असोज २०) दिउँसो करिब २ बजे घरनजिकै बकैया खोलामा उनी नुहाउन गएका थिए । बकैया खोलाले बगाएको करिब ४० मिनेटपछि बालक फेला परेका थिए ।

उपचारका निम्ति बालकलाई राजपुर प्राथमिक उपचार केन्द्र फरदहवामा ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका उनले बताए ।

यसैबीच, देवाही गुनाही नगरपालिका–६, कर्कचटोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् । कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरतीकुमारी र सोही गाउँका शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी सोमबार दिउँसो करिब सवा २ बजेदेखि बेपत्ता भएका डीएसपी कार्कीले जानकारी दिए ।

ती बालिका आफ्नो खेतको भँगालोमा नुहाउन गएका थिए । उनीहरूको खोजीकार्य तीव्र बनाइएको डीएसपी कार्कीले बताए ।


Published :अशोज २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media