अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी समूहको ज्ञापनपत्र दर्ता

राष्ट्रपाटी न्युज

अशोज २१, २०८२

काठमाडौं । निष्पक्षतामा प्रश्न उठाउँदै जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) का प्रमुख प्रेमकुमार राईको राजीनामाका लागि दबाब पत्र दर्ता गराएको छ।

मंगलबार जेनजी समूहका प्रतिनिधिहरू टंगालस्थित अख्तियार कार्यालय पुगेका थिए र ज्ञापनपत्र दर्ता गराएका हुन्। ज्ञापनपत्रमा राईको राजीनामा माग गर्दै उक्त पत्र प्रधानमन्त्री कार्यालय र कानून मन्त्रालयमा पनि पठाइएको छ ।

जेनजी समूहका नेता रिजन राना मगरले भने, “जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो। विवादित पृष्ठभूमिका व्यक्ति अख्तियारको प्रमुख रहिरहनु हुँदैन, त्यसैले राजीनामा माग गरिएको हो ।”

साथै, जेनजीका युवा अमित खनालले भने, “प्रश्न उठेका र निष्पक्ष नभएका व्यक्ति भएकोले राजीनामा माग गरिएको हो । राजीनामा दिनुहुन्छ भन्ने विश्वास गरेका छौं। यदि राईले राजीनामा दिएनन् भने थप दबाबमूलक कार्यक्रम गर्नेछौं।”

ज्ञापनपत्र दर्ता गर्न पुग्नुभएकी जेनजी समूहकी नेतृ वनिकाले देश अहिले क्षति भोगिरहेको अवस्थामा नैतिकताका आधारमा राईले राजीनामा दिने विश्वास व्यक्त गर्दै भने, “अख्तियार प्रमुखको राजीनामा आएन भने त्यसपछि थप योजना बनाउँछौं।”

यस कदमले जेनजी समूहको भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने आन्दोलनलाई अझ सक्रिय बनाउने अपेक्षा गरिएको छ ।


Published :अशोज २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media