अपराधमा संलग्नमाथि कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जाँचबुझ आयोगको प्रष्टोक्ति

राष्ट्रपाटी न्युज

अशोज २१, २०८२

काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका तर्फबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको हो ।

गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा ध्यानाकर्षण भएको भन्दै आयोगले सो विज्ञप्ति प्रकाशन गरेको हो । सो आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय सहितको प्रतिवेदन दिने कार्यादेश रहेको जनाएको छ ।

‘सो कार्यादेश बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२-०६-०९ गते जारी विज्ञप्ति प्रति आयोगको ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले आयोगको कार्यक्षेत्र रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैर कानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने भन्दै विज्ञप्ति जारी गरेको थियो । जसले गर्दा प्रहरीले जेन-जी आन्दोलनको क्रममा २४ गते भएको तोडफोड तथा आगजनीमा संलग्नमाथि अनुसन्धान र कारबाहीलाई अगाडि बढाएको छैन ।


Published :अशोज २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media