केपी ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

राष्ट्रपाटी न्युज

अशोज २२, २०८२

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न सरकारलाई खुला चुनौती दिएका छन् ।

बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले केही जेनजी आन्दोलनका अगुवाहरूले ओलीविरुद्ध दिएको उजुरीलाई लिएर प्रतिक्रिया जनाउँदै भने, “यदि ओली दोषी हुनुहुन्छ भने, हिम्मत छ भने पक्राउ गरेर देखाऊ।”

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पक्राउ गर्नुपर्ने माग गुरुङ लगायतले प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा गरेको समेत दाबी गर्दै भने –“सुदन गुरुङ जस्ता मान्छेलाई यहाँ एम्बुस बनाएर पडकाउन खोजिदै छ, सुदनजी जस्ता मान्छेहरू बालेनजी जस्ता मान्छेहरूको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गुर्नपर्छ भनेर मिडिया ट्रायल गर्छन्, सोसल मिडियामा ट्रेन्ड चलाउँछन्, डेलीगेसनमा जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’

उनले कटाक्ष गर्दै थपे, “केपी ओली दोषी हुन् भन्ने प्रमाण छ भने कानुनी प्रक्रिया अघि बढाऊ। तर, राजनीतिक हिसाबकिताब मिलाउन यस्ता प्रयासहरू नहोस्।”

यसअघि जेनजी आन्दोलनमा दमन गरिएको आरोपमा सुदन गुरुङसहित केही अगुवाहरूले केपी ओली, रमेश लेखक र महेश बस्नेतविरुद्ध मंगलबार प्रहरीमा उजुरी दिएका थिए। उजुरीलाई प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा पठाएको छ।

त्यसको प्रतिक्रिया स्वरूप बस्नेतले सरकार र आन्दोलनकारीहरूलाई लक्षित गर्दै उक्त चुनौती दिएका हुन्।

दलका नेताहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको प्रसंगमा बस्नेतले आक्रोश प्रकट गरे। उनले सत्ता सम्हालिरहेका अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङहरूबाटै छानबिन सुरु गर्नुपर्ने बताए।

बस्नेतले भने, “हामी दूधले नुहाएका त होइनौं, तर जबर्जस्ती भ्रष्टाचारी भनेर आरोप लगाउन पाइँदैन। महेश बस्नेत भ्रष्टाचारी हो भने प्रमाणसहित कारबाही होस्। होइन भने अनाहकमा आरोप लगाउन पाउने छुट कसैलाई छैन।”

एमालेको आधिकारिक धारणा चाँडै सार्वजनिक हुने

बस्नेतले जेनजी आन्दोलन र पछिल्ला घटनाक्रममाथि एमाले अध्यक्ष ओलीले युवा संघको कार्यक्रममा बोलिसकेको उल्लेख गर्दै अन्य शीर्ष नेताहरूले पनि चाँडै धारणा सार्वजनिक गर्ने जानकारी दिए।

उनका अनुसार, असोज २४ गते सचिवालय बैठक र २७ गते केन्द्रीय समिति बैठक बस्नेछ। “यो महिनाको अन्त्यसम्ममा एमालेले आफ्नो आधिकारिक धारणा स्पष्ट रूपमा सार्वजनिक गर्नेछ,” उनले बताए।


Published :अशोज २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media