
काठमाण्डाै । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आउँदाे १५औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोड्ने दोहोर्याएका छन् ।
जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक भएका उनले पार्टी केन्द्रीय कार्यसमितिकाे बैठकमा अहिले पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पारेका हुन्।
सभापति देउवाले घरमा सधैँ एकै जना मूली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गरे । आफूले यसअघि नै १५औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताए ।
उहाँले भन्नुभयो, ‘घरमा सधैँ एकै जना मूली रहँदैन । पार्टीमा पनि हमेशा एकै जना सभापति रही रहँदैन । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आउँदाे १५औं महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’