असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व संकलन

राष्ट्रपाटी न्युज

कार्तिक ५, २०८२

काठमाडौं । असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार २६०, रजिष्ट्रेसन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार ३५५ संकलन भएको छ । पुँजीगत लाभकर रु एक अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ संकलन भएको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौंले रु २७ करोड ४२ लाख ९६ हजार २१०, आगलागी र तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले रु ४१ लाख ५० हजार ३७१ बराबरको राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार ६३९, मालपोत कार्यालय दमक झापाले रु दुई करोड ८६ लाख ४१ हजार ३९०, मालपोत कार्यालय मनमैजु काठमाडौंले रु चार करोड ७७ लाख २३ हजार ३६१ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ ।

गत असोजमा २३ हजार ३५३ वटा लिखत पारित भएको छ । दुई हजार ४४२ वटा नामसारी, रोक्का २३ हजार ९१४, फुकुवा १७ हजार ९३० भएको छ । विभागका अनुसार सो महिनामा ७९ हजार ७३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।


Published :कार्तिक ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media