
काठमाडौं । सेयर बजार एकल अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ६६ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा पुगेको छ।
नेप्से सामान्य अंकले घटे पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन करिब साढे ५ अर्बको सेयर कारोबार भएको छ। मंगलबार साढे ४ अर्बको कारोबार भएको थियो।
बुधबार ३२१ स्क्रिप्सको १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भए। आज खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशतले बढ्दा मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ र आशा लघुवित्त वित्तीय संस्थाको ७.६८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले २३ करोड ६५ लाख बढीको सेयर कारोबार गर्यो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २३ करोडको सेयर कारोबार गर्दा बुटवल पावर र राधी विद्युतले २२/२२ करोड र हिमालयन रिइन्स्योरेन्सले १८ करोडको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ८५ स्टक्सको मूल्य बढ्दा १५९ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचक बढ्दा ९ समूहको घट्यो ।