अमेरिकामा कार्गो विमान दुर्घटनाः मृतकको संख्या १२ पुग्यो, अझै केही बेपत्ता

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८२

काठमाडौँ । अमेरिकामा भएको कार्गो विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अझै केही बेपत्ता छन्।

अमेरिकाको केन्टकीस्थित लुइसभिलको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा युपिएस कार्गो विमान दुर्घटनाग्रस्त भएको हो।

केन्टकीका गभर्नर एन्डी बेशियरका अनुसार मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

राष्ट्रिय यातायात तथा सुरक्षा बोर्डका अनुसार उडानका क्रममा विमानको बायाँ इन्जिन पखेटाबाट छुट्टिएपछि ठूलो आगलागी भएको थियो।

दुर्घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। अधिकारीहरूले जीवित रहेकाहरूको अवस्था पनि गम्भीर रहेको बताएका छन्।

विमानका तीन जना चालकदलका सदस्य पनि मारिएका आशङ्का गरिएको छ। घटनास्थलमा उद्धारकर्मीहरूले अझै पनि हराइरहेका व्यक्तिहरूको खोजी गरिरहेका छन्।

जाँचकर्ताहरूले ‘ब्ल्याक बक्स’ अर्थात् उडान डाटा रेकर्डर र ककपिट रेकर्डर फेला पारेका छन्। प्रारम्भिक अनुसन्धानमा विमानको बायाँ इन्जिन धावनमार्गमा दौडिँदै गर्दा छुट्टिएको देखिने भिडियो भेटिएको बताइएको छ। तर, भिडियो सार्वजनिक गरिएको छैन।

तर, अझै पनि कम्तीमा १६ जना हराइरहेको परिवारका सदस्यहरूले बताएका छन्।

लुइसभिलका अग्नि विभाग प्रमुख ब्रायन ओनिलका अनुसार, दुर्घटनास्थलमा फैलिएको इन्धनका कारण दुखद अवस्था सिर्जना भएको थियो।

यो विमान ३४ वर्षअघि थाई एयरवेजका लागि बनाइएको थियो। पछि यसलाई सन् २००६ मा युपिएसमा स्थानान्तरण गरिएको थियो।

लुइसभिल शहर युपिएसको विश्वव्यापी एयर हब ‘वर्ल्डपोर्ट’को केन्द्र हो। यसलाई विश्वकै सबैभन्दा ठूलो प्याकेज ह्यान्डलिङ्ग सुविधा मानिन्छ। कम्पनीले घटनापछि प्याकेज छान्ने कार्य स्थगित गरेको छ । (रासस)


Published :कार्तिक २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media