सर्वोच्चद्वारा मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८२

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आदेशमा भनिएको छ, ‘प्रकृति एवं गाम्भीर्यता समेतलाई विचार गरी दुवै पक्षबीच छलफल गरी दुवै पक्षलाई राखी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफल प्रयोजनार्थ मिति २०८२-७-३० गतेको पेसी तोकी सोको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नु ।’

अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी यही कात्तिक २३ गतेको निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी सम्पूर्ण कागजातसहितको फाइल झिकाउन भनेको छ ।


Published :कार्तिक २६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media