आगामी निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्कीको चासो

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।

आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो।

आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ।

आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्रै पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिन नभनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएकाले सहज वातावरण बन्दै गएको उनले बताए ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको उनले बताए । ‘हाम्रो मूल्यांकनअनुसार तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ, द्विविधा राख्नुपर्ने अवस्था छैन’, उनले भने ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीनबुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो।

जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालेको जनाएको छ । अहिले जनशक्ति पनि बढाइएको र प्राविधिक समस्या तत्काल समाधान भइरहेको भण्डारीले बताए ।

यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ।

आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दै छ। यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ।


Published :कार्तिक २६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media