जेनजी आन्दोलनको आवरणमा प्रहरी कार्यालयमा आगजनी गर्ने २१ जना पक्राउ

राष्ट्रपाटी न्युज

कार्तिक २८, २०८२

विराटनगर ।  जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी एवं तोडफोड गरिएको थियो । ती कार्यालयबाट थुनुवा भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो ।

त्यस्तै, विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय तथा विभिन्न प्रहरी बिटहरुमा आगजनी र तोडफोड गरियो । सीआरभीको गाडीसमेत जलाइयो । ट्राफिक लाइट र सीसी क्यामेरा पनि तोडफोड गरिएको थियो । भदौ २४ गतेको अपराधिक घटनामा संलग्नहरु अहिले धमाधम पक्राउ पर्न थालेका हुन् ।

उर्लाबारीबाट पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास छन् । पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् । विराटनगर र जहदाबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

एसपी कटवालले पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए । जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर आतंक मच्चाउनलाई कारबाहीको दायरामा ल्याउन थालिएको बताउँदै कटवालले घटनामा जोसुकै संलग्न भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।

उनका अनुसार मोरङ प्रहरीको यो कारबाहीबाट आतंक मच्चाउने र हुलहुज्जत गर्ने तथा आगजनी र तोडफोड गर्नेलाई प्रहरीले छाड्दैन भन्ने सन्देश प्रवाह भएको छ । भदौ २४ गतेको घटनामा संलग्नको विवरण अझै पनि संकलन गर्ने काम भइरहेको प्रहरुीले जनाएको छ ।

आगजनी एवं तोडफोड गरेर विध्वंस मच्चाउने अराजक समूहका अन्य व्यक्तिहरूको पहिचान, खोजी र पक्राउका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । त्यतिबेला विध्वंस मच्चाउने समूह प्रहरीको उच्च निगरानीमा छ ।

आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेर सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मल ध्वस्त पारिएको थियो । विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको प्रहरीले घटना गर्न उक्साउनेलाई पनि नछाड्ने भएको छ ।

सुरुमा प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइएको छ । त्यसपछि सरकारी एवं निजी सम्पत्ति ध्वस्त पार्नेलाई कारबाही गर्ने प्रहरीको तयारी छ ।

कटवालले भदौ २४ को अराजक घटनाले प्रहरीको मनोबल खस्किएको बताए । जेनजीको नाम लिएर अपराधिक कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरेर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ केन्द्रित हुने उनको भनाइ छ । उनका अनुसार अपराधिक गतिविधि गर्ने र अराजक भिडलाई उक्साउनेहरू भाग्न नपाउन् भनेर प्रहरीले निगरानी बढाएको छ । तिनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि प्रहरीले संवेदनशील भएर काम गरिरहेको जानकारी एसपी कटवालले दिए ।

सबैसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन निर्भीक हिसाबबाट प्रहरीले काम गर्ने उनी बताउँछन् । उनले नागरिकले अनुभूति गर्ने गरी सुरक्षा दिन प्रहरी तयार रहेको बताए । सबैतिर प्रहरी सक्रियता बढाइएको र प्रहरीले कारबाहीलाई तीव्र पारेको जानकारी कटवालले दिए। आन्दोलनमा नाममा विध्वंस मच्चाइएको घटनासँग सम्बन्धित प्रमाण भएमा तत्काल उपलब्ध गराउन उनले सबैलाई आग्रह गरेका छन् ।


Published :कार्तिक २८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media