कमला नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख रामउदगार गोइतसहित १० जनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूमाथि आरोपत्र दायर गरिएको हो ।

आर्थिक वर्ष २०७६-७७ का लागि स्वीकृत करसहित रु ७५ लाख लागत अनुमान भएको योजनामा बोलपत्र प्रक्रियामा सबैभन्दा कम कबोल (रु ४२ लाख ७४ हजार ५५१ दशमलव ७१) गर्ने ‘सेट स्क्वायर कन्सट्रक्सन प्रालि’ सँग सम्झौता नगरी दोस्रो घटी कबोल (रु ७२ लाख २१ हजार ७३० दशमलव ७) गर्ने ‘इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि’ लाई गैरकानुनी रूपमा ठेक्का दिएको आयोगको ठहर छ ।

आयोगको अनुसन्धानमा नगरपालिकाका पदाधिकारीहरूले सेट स्क्वायर कन्सट्रक्सनले पेस गरेका कागजात तथा बैंक जमानत बदनियतपूर्वक लुकाइ नष्ट गराई सम्झौता नदिन निर्णय गराएको र उल्टै उक्त फर्मको विड बोण्ड जफत गरी दोस्रो प्रस्ताव दातासँग सम्झौता प्रक्रियामा अघि बढाएको पाइएको छ ।

२०७७ जेठ २१ गते इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालिसँग रु ७२ लाख १८ हजार ६८० को दरले सम्झौता गरी भुक्तानीसमेत दिइएको र यसरी गरिएको ठेक्का हेरफेरबाट रु २९ लाख ४४ हजार १३७ दशमलव २९ बराबरको सरकारी धन हिनामिना भएको आयोगले निष्कर्ष निकालेको छ ।

आरोपपत्रमा गोइतसहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित प्रतिवादी बनाइएको आयोगका प्रवक्ता पौडेलले जनाकारी दिए ।


Published :मंसिर ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media