
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। आठौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चारमाध्यमहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो।
औपचारिक संघ, संगठनहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्थाअनुरूप सरकारी सञ्चारमाध्यमहरूलाई औपचारिक रूपमा कोषमा आबद्ध गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रमका अवसरमा सरकारी सञ्चारमाध्यम कोषमा आबद्ध हुने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ। प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सम्बन्धित निकायका पदाधिकारीले हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सार्वजनिक प्रसारण सेवा नेपाल (पिएसबी), प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन्।
कोषका अनुसार बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका छन्। कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।