कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पुस अन्तिम साता महाधिवेशन प्रस्ताव गर्ने

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८२

काठमाडौं । कांग्रेसको सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नका लागि कार्यतालिका पेस गर्दै छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते हस्ताक्षर बुझाएका थिए। उक्त मितिले ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। ३ महिना पुस २८ गते पुग्दै छ। त्यसैले उक्त अवधि भित्रै नियमित महाधिवेशन गर्ने गरी सोमबारको केन्द्रीय समिति बैठकबाट कार्यतालिका ल्याउने तयारीमा कार्यवाहक सभापति खड्का छन्।

पार्टी सभापति शेरबहादुर देउवाको सक्रियता र समन्वयमा संस्थापन पक्ष पुस अन्तिम साता नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको हो। सहमति जुटाउन सभापति देउवा निकै सक्रिय बने। उनले संस्थापन पक्ष र इतर पक्ष सबैको धारणा सुनिसकेपछि मात्र पुस महिनाको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने माहोल मिलाएका हुन्।

देउवाले पुस महिनाभित्रै महाधिवेशन गर्ने गरी मध्यमार्गी बाटो निकालेका हुन्। देउवाको यो प्रयासमा अर्का नेता रमेश लेखक लागिपरेका थिए। लेखकले मुख्यतया महामन्त्रीद्वय, डा. शेखर कोइराला र विशेष महाधिवेशन माग गर्नेलाई मध्यमार्गीको बाटोमा ल्याउने सहमति जुटाएका हुन्। तर, विशेष पक्षधर भने सहमतिमा आइसकेको छैन। विधानतः विशेष महाधिवेशनको माग टर्ने अवस्था नभएपछि देउवाले आइतबारको बैठकमा पुस महिनाभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्कालाई निर्देशन दिइसकेका छन्।


Published :मंसिर १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media