एमाले निर्वाचनबाट कहिल्यै भागेन र भाग्दैन : उपमहासचिव ज्ञवाली

राष्ट्रपाटी न्युज

मंसिर २०, २०८२

भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र नभाग्ने पनि बताएका छन्।

शुक्रबार भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उनले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।

उपमहासचिव ज्ञवालीले भने, ‘एमाले निर्वाचनबाट कहिल्यै भागेन र आगामी दिनमा पनि भाग्दैन। कसले चुनाव गराउँछ भन्ने सरोकारभन्दा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिन्छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताले निर्धक्क भएर मतदान गर्न सक्ने अवस्था र वातावरण तयार हुनुपर्छ।’

महाधिवेशन सकिएपछि आगामी पुस १ गतेदेखि देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उनले महाधिवेशनबाट आएको परिणामलाई स्विकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सव्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको बताएका थिए।


Published :मंसिर २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media