
एएफपी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।
प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउन सीपमा आक्रमण हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उनले बताएका छन् ।
तीन जना बन्दुकधारीहरू बिहान ४:३० बजे छात्रवास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ । उनले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकिएको उल्लेख गर्दै अहिले सम्म कसैलाई पनि पक्राउ नगरिएको बताएका छन् ।
दक्षिण अफ्रिकाको सबैभन्दा औद्योगिक राष्ट्र दक्षिण अफ्रिका सङ्गठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचार सँग जुझिरहेको जनाइएको छ । मुलुकमा धेरै मानिसहरूसँग व्यक्तिगत सुरक्षाका लागि इजाजत पत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेको जनाइएको छ ।
प्रहरीका अनुसार आक्रमणका कारण गत अप्रिल देखि सेप्टेम्बर सम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु भएको थियो । (रासस)