म्यानमारमा हवाई आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर २०, २०८२

काठमाडौँ । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र उद्धारकर्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले म्यानमारको हवाई आक्रमण भएको जनाएको हो।

सन् २०२१ मा सेनाले सैन्य ‘कू’ मार्फत सत्ता कब्जा गरेयता म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कू’ विरोधी लडाकुहरूसँगको लडाइँका कारण बारम्बार हवाई आक्रमण भइरहेका छन्। सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ।

एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो।

उनले एएफपीसँग भने, ‘आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन्। चिया पसलमा भीडभाड भएको समयमा आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो।’ एएफपीसँग सूचनाका लागि बोलेका सबै स्रोतहरूले आफ्नो सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरेका छन्।

आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले भने, ‘आक्रमणका कारण सात जनाको घटनास्थलमै र अन्य ११ जनाको पछि अस्पतालमा मृत्यु भएको थियो।’

हवाई आक्रमण समय घटनास्थलमा नै रहेका तर बाँच्न सफल एक व्यक्तिले बम विस्फोट हुँदा उनी चिया पसलमा टेलिभिजनमा बक्सिङ खेल हेरिरहेका थिए। ‘मैले हवाईजहाजमाथिबाट उडेको सुनेँको लगत्तै भुइँमा लडेँ,’ उनले भने।

म्यान्मामा सेनाप्रति बफादार जुन्टा सरकारका एक प्रवक्तासँग यस बिषयमा कुरा गर्ने एएफपीको प्रयास सफल हुन नसकेको एएफपीका संवाददाताले जानकारी दिएका छन्।

स्थानीय एक बासिन्दाले भने, ‘विनाशकारी भूकम्प गएपछि घोषणा गरिएको कथित युद्धविरामका बाबजुद मे महिनामा सागाइङमा भएको जुन्टाको हवाई हमलामा मारिएकाहरूको शनिबार अन्त्येष्टि गरिएको छ। मलाई धेरै दुःख लागेको छ किनभने म तिनीहरूमध्ये केहीलाई राम्ररी चिन्थें।

म्यानमारमा विनाशकारी भूकम्प गएपछि कथित युद्धविरामको घोषणा गरिए पनि मे महिनामा सागाइङमा भएको सैन्य शासकको हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)


Published :मंसिर २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media