भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले हटायो क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध

एएफपी । भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए ।

समाचारअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनीकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ, जहाँ उनीहरूमाथि लागू औषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ ।

अमेरिकी विशेष फौजले शनिबार बिहान सबेरै राजधानी वरपरका क्षेत्रमा हवाई आक्रमणसहितको सैन्य कारबाही सञ्चालन गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रारम्भिक प्रतिबन्ध समाप्त भएको र त्यसपछि नियमित उडानहरू पुनः सञ्चालन गर्न अनुमति दिइएको बताएका छन् ।

उनका अनुसार सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक सूचना दिइसकिएको छ र उडान तालिका छिट्टै अद्यावधिक गरिनेछ ।

यसअघि अमेरिकी संघीय उड्डयन निकायले जारी गरेको सूचनामा क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएको उल्लेख गर्दै उक्त हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो । (रासस)


Published :पुस २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media