रास्वपाको एकता सभामा बालेन र कुलमान अनुपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’मा वरिष्ठ नेता बालेन्द्र शाह र वरिष्ठ उपसभापति कुलमान घिसिङ उपस्थित भएनन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित उक्त सभामा सभापति रवि लामिछाने, उपसभापतिहरू डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायत शीर्ष नेताहरू सहभागी भएका छन्।

नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता तथा थरूहटरथारूवान आन्दोलनका अभियन्ताहरूलाई रास्वपामा समायोजन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सभास्थलमा राखिएको ब्यानरमा सभापति लामिछानेलाई दायाँ–बायाँ ठूला तस्बिरसहित प्रमुख रूपमा प्रस्तुत गरिएको छ। तर, यही कार्यक्रममा बालेन शाह र कुलमान घिसिङ भने देखिएनन्।

सहमति अनुसार बालेन्द्र शाह रास्वपाको वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बन्ने र कुलमान घिसिङ वरिष्ठ उपसभापति हुने सहमति भएको बताइन्छ। रास्वपा र बालेन्द्र शाहबीच पुस १३ गते एकता सम्झौता भएको थियो भने पुस १४ गते रास्वपा र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको थियो।

उक्त सहमतिअनुसार आइतबार रास्वपाले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको थियो। तर कुलमान पक्षबाट केन्द्रीय सदस्य नियुक्ति भने अझै बाँकी छ।

यद्यपि, बालेन्द्र शाह र कुलमान घिसिङ दुवैले हालसम्म पार्टीको औपचारिक शपथ लिएका छैनन्। कुलमानको पार्टीले छुट्टै समानुपातिक बन्द सुचि पेश गर्ने प्रयास गर्नु र वालेनले सपथ पनि नलिएनु र पार्टीले महत्वपूर्ण एकता सभा भनेको कार्यक्रममा सहभागी नहुँदा उनीहरुबीचको एकता संकटमा परेको हो कि भन्ने आशंका गर्न थालिएको छ ।


Published :पुस २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media