समानुपातिकतर्फ ५० जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका ५० जनाले उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो ३ बजेसम्मको तथ्यांकमा आधारित यो संख्या हो।

आयोग स्रोतका अनुसार उम्मेदवारी फिर्ता लिन दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने भएकाले यो संख्या अझै बढ्न सक्नेछ। उम्मेदवारी फिर्ता लिने ५० जनामध्ये २० जना जनमत पार्टीका रहेका छन्।

जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।

राजनीतिक दलहरूले पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। आयोगले सूचीमा क्लस्टर मिले–नमिलेको परीक्षण गरेपछि दलहरूले पुस २७ गतेसम्म आवश्यक सच्याइसकेका छन्।

आज उम्मेदवार स्वयंले चाहेको खण्डमा समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिन निवेदन दिन सक्ने समय निर्धारण गरिएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी फिर्ताका लागि सम्बन्धित उम्मेदवार स्वयं आयोगमा उपस्थित भई निवेदन दिनुपर्ने व्यवस्था छ।

उम्मेदवारी फिर्ता भएपछि आयोगले सम्बन्धित राजनीतिक दललाई उक्त स्थानमा अर्को उम्मेदवार सिफारिस गर्न समय दिनेछ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गतेका लागि निर्धारण गरिएको छ।


Published :पुस २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media