गगन र विश्वलाई देउवा पक्षद्वारा पाँच वर्षको कारबाही

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले पाँच वर्षका लागि निष्कासनको कारबाही गरेको छ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै उनीहरूलाई कारबाही गरिएको जनाइएको छ। पार्टी संस्थापन पक्षका अनुसार केन्द्रीय समितिको निर्णय बेवास्ता गर्दै विशेष महाधिवेशन आह्वान गरिनु पार्टी विधानविपरीत भएको निष्कर्ष निकालिएको हो। दुवै महामन्त्रीसँगै सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ।

महामन्त्रीद्वय थापा र शर्माले भने पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरिएको दाबी गरेका छन्। उनीहरू सहभागी केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि आगामी वैशाखमा गर्ने सहमति गरेको थियो। तर उक्त निर्णयप्रति उनीहरूले फरक मत राख्दै आएका थिए।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलबाट गरिएको निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरी निर्वाचन प्रक्रिया अघि बढाएका थिए।

पार्टी विभाजन रोक्ने प्रयासस्वरूप पछिल्ला दिनहरूमा विभिन्न चरणमा वार्ता भए पनि सहमति जुट्न सकेन। मंगलबार नेताहरूबीच तीन चरणमा छलफल भएको थियो भने बुधबार बिहान मात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। तर ती छलफलहरू पनि निष्कर्षविहीन बने।

सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वयले निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। सोहीअनुसार सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता गरिएको छ।

निर्वाचन समितिका अनुसार अन्य पदाधिकारी पदमा पनि मनोनयन प्रक्रिया अघि बढिसकेको छ।


Published :पुस ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media