पार्टीभित्र एकता र सद्भाव कायम गर्दै आगामी चुनौतीहरू सामना गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै आगामी चुनौतीहरू सामना गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन देशभरका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपील गर्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आपसी सद्भाव, सहकार्य र एकताबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने निष्कर्ष निकालिएको जानकारी दिए। उनका अनुसार कांग्रेस अब सम्पूर्ण रूपमा निर्वाचन केन्द्रीत गतिविधिमा जुट्नेछ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्‍याएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय पनि गरेको छ। आगामी दिनमा समेत निवर्तमान सभापति देउवा सहित अग्रज नेताहरूको अभिभावकत्व पार्टीमा कायम रहने विश्वास बैठकले व्यक्त गरेको प्रवक्ता चालिसेले बताए।

त्यसैगरी, पार्टीलाई थप बलियो बनाउन निवर्तमान केन्द्रीय कार्यसमिति र अग्रज नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि बैठकले व्यक्त गरेको छ।

चालिसेले टिकट वितरण प्रक्रिया संसदीय बोर्डमार्फत अघि बढाइने जानकारी दिँदै पार्टी विधान र संविधान अनुसार नै पार्टीले अधिकारिकता प्राप्त गरिसकेको अवस्थामा भिन्न मत राख्न आवश्यक नरहेको धारणा व्यक्त गरे।


Published :माघ ३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media