
काठमाडौँ । विघटित प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ ।
आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेस पहिलो दल बनेको हो ।
एमाले र जसपासँग तालमेल गरेर कांग्रेसले १८ मध्ये ९ सिट लिएको थियो, जसमध्ये सबै निर्वाचित भएका हुन् ।
अब राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो । यसअघि कांग्रेसको १६ सिट थियो । त्यस्तै आजको चुनावबाट कतै उम्मेदवार जिताउन नसकेको नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा पुगेको छ । यसअघि नेकपा पहिलो दल थियो ।
नेकपाका ९ सदस्य आजबाट बिदा भएका छन् । त्यस्तै एमाले ११ सिटसहित तेस्रो रहँदा राष्ट्रिय जनमोर्चाका १ जना सांसद मात्रै रहेका छन् ।
राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये राष्ट्रपतिले ३ जना मनोनीत गर्ने गर्छन् । चक्रिय प्रणालीमा परिवर्तन हुने राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।