नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १४ अर्ब

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१३.०५ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन बुधबार परिसूचक ५.३८ अंकले बढेको थियो।

यसदिन कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३२० वटा स्क्रिप्सको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ११ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले घट्दा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। हिमालयन दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ९.२३ प्रतिशतले बढ्यो।

तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,मैथिली लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा  नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५९ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। एसवाई प्यानल  नेपालको ५२ करोडको सेयर कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरले ४६ करोड,युनियन हाइड्रोपावरले ४४ करोड र राधी विद्युत कम्पनीले ४३ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। तीनवटा समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।  हाइड्रोपावर,इन्भेस्टमेन्ट र म्युचुअल फण्ड समूहको उपसूचक सकारात्मक देखिँदा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।


Published :माघ १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media