सुनको भाउ निरन्तर ओरालो, आज प्रतितोला १३ हजार ४ सय रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा गत शुक्रबारदेखि लगातार ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ। सुनको भाउ आज प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।

गत बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो भने शुक्रबार २० हजार ५ सय रुपैयाँले घटेको थियो । आइतबार पनि सुनको मूल्य १८ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख रुपैयाँमा झरेको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र विभिन्न केन्द्रीय बैंकहरूको मौद्रिक नीतिमा आएको परिवर्तनका कारण सुनको माग घटेको विश्लेषण गरिएको छ । सामान्यतया विश्वबजारमा अस्थिरता बढ्दा सुरक्षित लगानीका रूपमा सुनको माग बढ्ने गर्दछ। तर पछिल्ला दिनमा अन्तर्राष्ट्रिय आर्थिक सूचकांकहरूमा सुधार देखिएसँगै लगानीकर्ताहरू सुनबाट बाहिरिएर अन्य क्षेत्रमा आकर्षित हुन थालेका छन्।

नेपाली बजार पूर्ण रूपमा अन्तर्राष्ट्रिय दरमा निर्भर रहने भएकाले विश्वबजारको सानो उतारचढावले पनि यहाँको मूल्यमा ठूलो असर पर्ने गरेको छ ।

विवाह तथा चाडपर्वको सिजन नजिकिँदै गर्दा भएको यस ठूलो गिरावटले उपभोक्तालाई केही राहत दिएको भए पनि मूल्य बढेका बेला सुनमा लगानी गरेका व्यवसायी तथा लगानीकर्ता भने चिन्तित देखिएका छन् ।


Published :माघ १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media