नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आग्रह गरेका छन्  ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन आज जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । उनले राजनीतिक मुद्दालाई निष्कर्षमा पु-याएपश्चात् नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँ स्तरमा पु-याउन र आगामी वर्षमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यका लागि मार्ग प्रशस्त गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन जनता–जनताबीचको सम्पर्कलाई समेटेको तथा यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत थप सुदृढ हुँदै गएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताउनुभयो । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धि हुने उनले उल्लेख गरे ।

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकामा उनले प्रसन्नता व्यक्त गरे । जापान नेपाली युवा र विद्यार्थीको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकामा जापानप्रति उनले आभार व्यक्त गरे ।

सो अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।


Published :माघ १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media