नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट

काठमाडौं । नेप्से परिसूचकको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन मंगलबार १२.५८अंकले घटेको नेप्से परिसूचक यसदिन १.६४ अंकले घटेर २६८१.५० विन्दुमा अडिएको छ। नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ।

यसदिन ३२६ स्क्रिप्सको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब ४९ करोड ८७ लाख ४२ हजार ९८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से घटेपनि चार कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शन,सुपर माइ हाइड्रोपावर,सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युतको सेयर १० प्रतिशतले बढ्यो।

८० करोड मूल्य बराबरको सेयर कारोबार गरी आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। एसवाई प्यानल नेपालले ६० करोडको सेयर कारोबार गर्दा राधी विद्युतले २६ करोड,श्रीनगर एग्रिटेकले २५ करोड र बन्दिपुर केवलकारले २० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १३४ वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा छवटा समूहको उपसूचक नकारात्मक देखिए।


Published :माघ २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media