भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

राष्ट्रपाटी न्युज

फाल्गुन ७, २०८२

चितवन । भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगमले बुधबारदेखि  इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए ।
उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिनेछ । हाललाई लिमिटेडको सिनामंगल कार्यालयमा रहेका ६ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए ।
यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौं–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान हुँदै आएको छ ।
बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए ।
“अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइनेछ”, उनले भने ।


Published :फाल्गुन ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media