बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष लामा र पदाधिकारीविरूद्ध अख्तियारमा उजुरी

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०८२

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र पदाधिकारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियारमा परेको उजुरीअनुसार बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा हिनामिना तथा अतिक्रमण गरेको विषय रहेको खुल्न आएको छ । नेपाल सरकारकै राजगुठीमा रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा क्षेत्र विकास समितिको मातहतमा ल्याउन मालपोत र नापी कार्यालय चाबहिलमा गैरकानुनी ढंगबाट कर्मचारीमाथी दबाब सिर्जन गरि जग्गाको लालपुर्जाको प्रतिलिपि माग गरिएको सूचना बाहिरिएपछि सो कार्य विरूद्ध आवश्यक कारवाही सहितको माग राखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन परेको हो ।

निवेदन मिति २०८२ माघको १० गते अख्तियारमा दर्ता भएको छ । सोही निवेदनका आधारमा कारवाहीका लागि कानुनी प्रक्रिया अगाडी बढाइएको अख्तियार दुरूपयोग अनसन्धान आयोग स्रोतले बताएको छ । प्राप्त सूचनानुसार मिति २०८२ माघ २२ गते नै निर्णय गरि मिति २०८२ माघ २५ गते कारवाही प्रक्रिया आगाडी बढाउन आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पत्र पठाइसकेको छ ।
बौद्ध घ्याङ गुठीको जग्गा हिनामिना गर्न गैरकानुनी कार्य गरेको भन्दै कानुन वमोजिम कारवाहीको माग गरिएको उल्लेख छ । बौद्ध क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले पत्र सं. ०८२÷०८३ च.नं. ४७५ मिति २०८२÷०७÷२८ गतेको पत्रमार्फत मालपोत कार्यालय चाबहिल काठमाडौैँलाई हा.सा. गरि ज.ध.प्र.पु. र श्रेष्ता बनाइ समितिमा पठाइदिने विषयमा पत्र लेखेको जानकारी बाहिरिएपछि त्यस्तो कार्य रोक्न गुठीले सचेत गराइएको छ ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीको स्वामित्वमा रहेका जग्गाहरु साविकको बैद्ध–३ कि.नं. ४७ को क्षेत्रफल ३–१–२–० (फोखरी) र ऐ.ए्े वडा कि.नं. १९० बौद्ध स्तूप मन्दिरको क्षेत्रफल १५–२–३–० को जग्गाहरु नेपाल सरकारको भनि हाल साविक गरि हालको जग्गाधनी पुर्जा र श्रेष्ता तयारी गरि बौद्धनाथ क्षेत्र विकास समितिलाई उपलब्ध गराउन मालपोत कार्यालयलाई दबाब दिएपछि उक्त कार्य गैरकानुनी र गैरअधिकार रहेको भन्दै गुठीले कानुनी उपचारको लागि कसरत गरेको छ । बौद्ध घ्याङ गुठीले गुठी अन्तरगतका जग्गाहरू संरक्षणको लागि खोजि कार्य बढाइरहेको बेला बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको नेतृत्वमा कार्यकारी निर्देशक मोहन कुमार तामाङ, सदस्य जानुका भण्डारी लगायत केही भूमाफियाहरुले उल्टै भूमाफियाहरुसंग मिलेर बौद्ध स्तूपका प्रमुख लामा रिन्पोछे चिनिया लामा भुपतिबज्र लामालाइ बर्खास्ती गर्न कसरत गरिरहेको गोप्य सुत्रबाट थाहा हुन आएको छ । रिन्पोछे चिनिया लामाले बौद्ध स्तूपमा गुठीको इतिहासलाई संरक्षण गर्ने, जग्गा तथा सम्पत्ति संरक्षण र खोजि कार्यलाई तिब्रता दिइरहेको बेला बौद्ध धर्म मास्ने तत्वहरुसंग मिलेर क्षेत्र विकास समितिले असहयोग गर्दै आइरहेको छ ।

कानुनले दिइएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार र काम कर्तव्यलाई पटक–पटक हस्तक्षेप गर्ने, पूजापाठमा वाधा पु¥याउने, बौद्ध महाचैत्य परिसरभित्रको बुद्धचित्त माला चोरि गर्ने, पवित्र धार्मिक स्थलमाथी सार्वसाधारण प्रवेश गराउने, गुम्बाको पर्यटन शौचालय गुठीको अनुमति बिना भत्काउने, पाटन उच्च अदालतको मिति २०७५ जेष्ठ २४ को फैसला विपरीत पर्यटकलाई प्रवेश शुल्क उठाउने, विश्वसम्पदा मापदण्ड विपरीत स्तूपको चारैतिर कुरुप हुने गरि बोर्डहरु राखिएको र स्तूपलाई नीजि कम्पनी जस्तो बनाइ गैरकानुनी गतिविधि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको नेतृत्व भइरहेको भन्दै सम्बन्धित निकायसम्म ध्यानाकर्षण भएको खुल्न आएको छ ।
बौद्ध घ्याङ गुठीको हराएको जग्गा खोज्न सहयोग गर्नुको सट्ट उल्टै नेपाल सरकारको गुठी संस्थान ऐन २०३३ अन्तरगत रहेको गुठी स्तूपको जमिनहरु बौद्धनाथ क्षेत्र विकास समितिमार्फत नेपाल सरकारको नाममा गुठी सम्पत्ति सरकारीकरण गर्न खोजिएपछि विवाद सिर्जना भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष लामाले बौद्धमा विदेशी तत्वहरु, जेन्जीको नाम लिएर बिचौलियाको रुपमा काम गर्नेहरु र केही समय अगाडी पाँचसय जना तिब्बती शरणार्थीहरुलाई नागरिकता बाँडेको भनि काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता भइ बयान दिइरहेको काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा समेतको मिलोमतोमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम र गुठी संस्थान प्रधान कार्यालयका पदाधिकारीलाई दबाब र प्रभावमा पारी चिनिया लामालाई बर्खास्त गर्न भूमिका खेलेको पछिल्लो समाचारहरुमा खुल्न आएको छ ।

क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको नेतृत्वमा केही महिना अगाडी धार्मिक मूल्य मान्यता विपरीत बौद्ध स्तुपमाथि रहेको पहिलो डोम (बुद्धको शरिरको रुपमा पुज्ने मण्डला) माथी सार्वसाधारण चढाउने, जुत्ता, चप्पल हेरचाह गरेबापत अवैध रुपमा रकम उठाएको र उल्टै गुठीले गरेको भनि भ्रम सिर्जना गर्दै आइरहेको उल्लेख छ । राजकुमार लामाले धार्मिक आस्थामाथी आक्रमण गरि धर्मलोप गराइ क्रिडा स्थलको रुपमा बौद्ध स्तूपलाई परिणत गराउने खोजिएको आरोप छ ।

क्षेत्र विकास समितिबाट गुठीले लगाएको फलामे गेट जबरजस्ती तोडेर गुठीका लामा भिक्षु तथा कर्मचारीमाथी हातपात, धाकधम्की, गाली बेइज्जती गरि स्तूपमाथी सार्वसाधारण चढाएको विषय सामाजिक सञ्जाल लगायत बौद्ध धर्मलम्बीहरुबाट चौतर्फी विरोध गरेको थियो । नेपाल सरकारको सार्वभौम सत्ता सम्पन्न गुठी ऐन अन्तरगत राजगुठीको रुपमा रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीमाथी राज्यबाटै आतंक सिर्जना भएको हुँदा द्वैध शासन गर्ने बौद्ध क्षेत्र विकास समितिलाई खारेजीको लागि नेपाल सरकारसंग पहल समेत भइरहेको बुझ्न आएको छ ।


Published :फाल्गुन ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media