नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम ४ अर्ब १७ करोड

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०८२

काठमाडौं । चुनाव नजिकिएसँगै सेयर बजार सकारात्मक बन्दै गएको छ। चुनावपछि राजनीतिक र आर्थिक स्थायित्व हुने अपेक्षाले सेयर बजार सकारात्मक लय तर्फ गएको लगानीकर्ताहरू बताउँछन्। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २७.५९ अंकले घटेको थियो। त्यसयता चार कारोबार दिन परिसूचक निरन्तर बढ्यो। सोमबार २.४१ ,मंगलबार २१.६२ र बुधबार १०.३० अंकले बढेको थियो।

यसदिन ३३५ स्क्रिप्सको १ करोड ५३ हजार १४५ कित्ता सेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम भने बुधबारको तुलनामा कम हो।

साल्पा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.२६ प्रतिशतले बढ्यो। हिम स्टार उर्जा कम्पनीको सेयर ६ प्रतिशतले बढ्दा झापा इनर्जीको ३.९३ प्रतिशत र मोलुङ्ग हाइड्रोपावरको ३.७३ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा अपी पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३२ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आँखु खोला जलविद्युत कम्पनिले २१ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले १५ करोड,नगदी ग्रुपले १४ करोड र रिडी पावरले १३ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १३७ वटा स्टक्सको मूल्य बढ्दा ११८ वटाको  घट्यो। ७ वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। चारवटा उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिए। होटल्स एण्ड टुरिजम, मनु एण्ड प्रो,माइक्रोफाइनान्स र  म्युचुअल फण्डको उपसूचक घटेको हो। नन लाइफ इन्स्योरेन्सको उपसूचक सर्वाधिक १.०९ प्रतिशतले बढ्यो।


Published :फाल्गुन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media