आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको हो।

यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात र १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढेको देखिएको छ।

छिमेकी भारत सँगको व्यापार घाटा सबैभन्दा धेरै रहेको छ। भारतसँग मात्र ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा हुँदा ७ खर्ब २४ अर्ब रुपैयाँको आयात र १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ।

त्यस्तै चीन सँग २ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँ घाटा भएको छ। चीनबाट २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ९८ करोड रुपैयाँ मात्र भएको छ।

अन्य धेरै घाटा भएका मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।

यता रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्या सँग भने व्यापार नाफा भएको छ।

आयाततर्फ पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छन्। आठ महिनामा ८२ अर्ब १० करोड रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ। साथै ८१ अर्ब १८ करोड रुपैयाँको कच्चा भटमास तेल, २९ अर्ब ९३ करोड रुपैयाँको स्मार्टफोन, ३६ अर्ब ८२ करोड रुपैयाँको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड रुपैयाँको सुन र १८ अर्ब ४४ करोड रुपैयाँको चाँदी आयात भएको छ।

निर्याततर्फ भटमास तेल सबैभन्दा अग्रस्थानमा छ, जसको ७५ अर्ब ७७ करोड रुपैयाँ बराबर निर्यात भएको छ। त्यसपछि ९ अर्ब ४९ करोड रुपैयाँको अलैँची, ६ अर्ब ५३ करोड रुपैयाँको कार्पेट, ६ अर्ब २० करोड रुपैयाँको सूर्यमुखी तेल र ४ अर्ब ३२ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ।


Published :चैत्र ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media