नेप्सेमा दोहोरो अंकको वृद्धि, १४ अर्ब ८३ करोडको कारोबार

राष्ट्रपाटी न्युज

चैत्र १०, २०८२

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च विन्दुमा पुगेको छ। २३.८३ अंकले बढ्दै नेप्से २९६० अंकमा पुगेको हो, जुन गत साउन १३ यताकै उच्च स्तर हो।

कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित रह्यो।

आज १३६ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ११ कम्पनीको स्थिर रह्यो। समूहगत रूपमा व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले बढ्यो। यसमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बढेपछि उक्त समूहमा उछाल देखिएको हो।

अन्य समूहहरूमा बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११ तथा उत्पादन–प्रशोधन ०.८६ प्रतिशतले बढेका छन्। भने होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६ र निर्जीवन बीमा ०.३८ प्रतिशतले घटेका छन्।

यस दिन ६ कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

यता फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। साथै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ र मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशतले गिरावट आएको छ।

कारोबारका आधारमा भने राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन्।


Published :चैत्र १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media